Listen Live

उमेर नपुग्दै आमा बन्नेको संख्या उच्च
Posted On: Sep 01, 2016

उमेर नपुग्दै आमा बन्नेको संख्या उच्च

बलाता–६ दाउनामोराकी ललुदेबी बिकले १६ बर्ष नपुग्दै पहिलो बच्चा जन्माइन् । एक महिनाको अन्तरालमा उनकै गाँउका अन्य चार महिला पनि आमा बने । उनीहरु सबै उमेरले १८ बर्षपनि पुगेका छैनन् । 
‘यहाँका धेरै महिलाहरुको अवस्था यस्तैछ’ ५६ बर्षीय जैसरा साँउदले भनिन,‘तर, सुत्केरी हुदा सबै महिला सफल हँुदैनन्, कतिले त बच्चा जन्माउन नसकेरै ज्यान पनि गुमाए । सुडेनीको सहारामा सुत्केरी हुने त्यहाँका कति आमाले अकालमा मृत्युको मुखमा पुग्नु प¥यो ? कुनै तथ्यांक छैन । त्यसक्षेत्रका करिब ८ वटा गाबिसमा यो समस्याले बिकराल रुप लिदैछ । हीच्मा, ढकारी, ढुंगाचाल्ना, ढाकु, नाडा, तुर्माखाद लगायतका गाबिसमा उमेर नपुग्दै बिबाह गर्नेको संख्या उच्च छ । 
जसका कारण सानैमा आमा बन्नुपर्ने बाध्यता आइलाग्ने गरेको ढुंगाचाल्ना स्वास्थ्य चौकिकी अनमी तारा बिकले बताइन् । एकबर्षको अवधिमा गाबिस स्थीत स्वास्थ्य संस्थामा जम्मा २९ जनाले सुरक्षित सुत्केरी सेवा लिएका छन । त्यसमध्य २२ जना २० बर्षभन्दा कम उमेरका छन भने उमेर पुगेर बच्चा जन्मउने आमाको संख्या ७ मात्र छ । छिमेकि गाबिस नाडामा पनि ६ महिनाको अन्तरालमा कम उमेरका १२ आमाले बच्चा जन्माएका छन । 
तर, बिगत भन्दा उमेर नपुग्दै गर्भवती हुने आमाको संख्यामा सुधार आएको अनमी रितादेबी शाहीको भनाई छ । जिल्लाका दुर्गममा जस्तै सदरमुकाममा पनि यो समस्या कायमै छ । चालु आर्थीक बर्षको अहिले सम्ममा जिल्ला अस्पताल मंगलसेनमा गर्भ जाँच गराउन आएका जम्मा ७ हजार ८ सय २३ मध्य १४ सय ६७ किशोरीको संख्या छ । लक्ष्य अनुसार कम उमेरमा गर्भवती हुने आमाको संख्या घटाउन नसकिएको अस्पतालले जनाएको छ । उसोत दुर्गम जिल्लाका सबै महिलाहरुलाई सुरक्षित सुत्केरी सेवाको पहुचमा पु¥याउन करोडौ खर्च भैसकेको छ । 
तरपनि सुडेनीकै भरमा सुत्केरी हुने र कम उमेरका आमाको संख्या बढेपछि भने चिन्ता थपिएको छ । ‘तुलनात्मक रुपमा मातृ मृत्युदर नियन्त्रण हुन थालेपनि शिशु मृत्युदर नियन्त्रणमा केही चुनौती छ,’ जिल्ला स्वास्थ्य प्रमुख डाक्टर शरदचन्द्र बरालले भने,‘यो बर्ष अझै अवस्था सुधार हुने अपेक्षा गर्न सकिन्छ ।’ 
स्वास्थ्यकर्मीहरुले २० बर्ष उमेर नपुगेसम्म बच्चा नजन्माउन सल्लाह दिने गरेका छन । कम उमेरमा गर्भवती हुदा आमा र बच्चाको ज्यान जाने उच्च जोखिम रहे पनि गरीबी र चेतनाको अभावले दुर्गममा १२÷१३ बर्षकै उमेरमा आमा बन्नेहरुको संख्या थपिदै गएको देखिन्छ  । 
समाजमा बढ्दै गएका बिकृतिका कारण हुने बालबिबाह अपेक्षित रुपमा रोक्न नसक्दा किशोरी आमा बढेको सरोकारवालाहरुको भनाई छ । २० बर्ष नपुगेर सुत्केरी भए बच्चा स्वस्थ नहुने र आमाको ज्यान जाने खतरा हुन्छ । 
शारीरिक परिपक्वता नभई किशोरीले बच्चा जन्माँउदा कुपोषण र पाठेघर खस्ने लगायतका समस्या देखिने गरेको डाक्टर बरालले बताए । ‘समय नपुगेर बच्चा जन्मिन सक्छ । जन्मियो भनेपनि कम तौलको हुने र कुपोषित हुनसक्छ । आमाको हर्मोनमा कमी आउने समस्या हुन्छ,’ उनले भने,‘कम उमेरमा बच्चा जन्माउँदा आमा र शिशुको  अकालमै ज्यान जाने समस्या घट्न सकेको छैन् ।’

Comments