Listen Live

चरिचरनले नासिदै खप्तड
Posted On: Sep 01, 2016

चरिचरनले नासिदै खप्तड

प्राकृतिक सौन्दर्य तथा जैविक विविधताले भरिपूर्ण खप्तड क्षेत्र चोरि तस्करी र चरीचरनले संकटमा परेको छ । अछाम, डोटी, बाजुरा र बझाङ जिल्लाको संगम स्थलमा रहेको खप्तडबाट बिभीन्न बहुमुल्य जातका जडिबुटी र बन्यजन्तु तस्करी बढेको छ भने चरीचरनको समस्या पनि उस्तै छ । 
‘झण्डै डेढबर्षभयो,‘ खप्तड तस्करहरुको चंगुलमा फसेको छ ।’ खप्तड राष्ट्रिय निकुञ्जका गेम स्काउट दिपक साँउदले भने,‘ठुलो क्षेत्र भएकाले तस्करी नियन्त्रण मुस्कील बन्न थालेको छ ।’ बर्षौ पहिले बथानका बथान देखिने कस्तुरी, चितुवा, रतुवा, थार, घोरल, डाँफे, मुनाल, जंगली कुकुर, हरियो छेपारो, बाघ, भालु, बादर, हिमाली कालो भालु, बदेल लगायतका बन्यजन्तु र चराचुरुङ्गी अचेल मुस्कीलले मात्र देख्न पाइन्छ ।
 ‘चराचुरुङ्गी र बन्यजन्तुको संख्या करिब ६० प्रतिशतले घटेको छ,’ बीरभद्रजंग गूल्म स्रोतले भन्यो,‘हप्ता दिनमै ५६ केजी बढी त जडिबुटी मात्रै तस्करी हुने गरेको छ ।’ यो तथ्यांक नेपाली सेनाले रंगेहात नियन्त्रणमा लिएकाहरुको भरमा अनुमान गरिएको हो । तर, निकुञ्ज छेउछाउबाट कति तस्करी हुन्छ् कुनै तथ्यांक नै छैन् । खासगरी मध्य जेठ देखि साउन अन्त्य सम्ममा बढी तस्करी हुने गरेको स्थानियको भनाई छ । 
खप्तडमा अर्को समस्याका रुपमा चरीचरन पनि रहेको छ । जेठ १५ देखि भदौ सम्ममा अछाम, डोटी, बाजुरा र बझाङका स्थानियहरुले आफ्ना घरपालुवा जनावर छाडा रुपमा खप्तडमै छोड्ने गरेका छन । जसले गर्दा त्यहाँका ताल तलैया र जडिबुटीहरु नासिने गरेको स्थानियको भनाई छ । कतिपयले त घरपालुवा जनावर छोड्ने बहानामा ठुलो मात्रामा जडिबुटी समेत चोरी तस्करी गर्ने गरेका छन । उनीहरुलेहरुले अछामको चौखुट्टे र साँफे, डोटीको सिलगढी, बझाङको तमेल र बाजुराको काँडा भन्ने ठाँउलाई तस्करीको मुख्य नाका रुपमा प्रयोग गर्ने गरेको खप्तड–१ अछामका अर्जुन बहादुर रानाले बताए ।
 नेपाली सेनाको गूल्मका अनुसार तस्करहरुले बन्यजन्तु र जडिबुटी भारत र चिन सम्म पु¥याउने गरेका छन । खप्तडको सुरक्षार्थ बीरभद्रजंग गूल्म मातहतमा डोटीको भिंग्राना र बझाङको लोखडामा नेपाली सेनाको बेस क्याम्प पनि राखिएको छ । तर, क्याम्पबाट छेउछाउका गाँउ पुग्न कम्तिमा ६ घण्टा पैदल हिड्नुपर्छ । 
खप्तड राष्ट्रिय निकुञ्ज व्यवस्थापन समिति नै सक्रिय नहुदा चोरी तस्करी नियन्त्रण कार्य कठिन बन्न थालेको नेपाली सेनाको आरोप छ । सिमित जनशक्तिकै भरमा सिङ्गो निकुञ्जको सुरक्षा दिन नसकिने सेनाको भनाई छ । १ सय ३५ किसिमका फुल फुल्ने खप्तड क्षेत्रमा नेपालमा मात्रै पाइने ७ सय मुख्य जडिबुटी मध्ये २ सय ५६ प्रजातिका जडिबुटी पाइन्छन । ५ सय ६७ प्रजातिका बनस्पती, २ सय ७० जातका चराचुरुङ्गी पाइने खप्तडमा ठुला पाटन मात्रै २२ वटा रहेका छन । नदीको सतहबाट १० हजार फिट उचाइमा रहेको खप्तडको सिमाना अछामका ५, बाजुराका २, डोटी र बझाँङका ५ वटा गाबिस सँग जोडिएको छ । 

Comments